छोराछोरी
जन्मिँदा निकै खुशी हुने बाबुआमा छोराछोरी हुर्किएपछि उनीहरुले गर्ने
व्यवहारबाट प्रायः निराश हुन्छन् । कारण हो, बुढेसकालमा छोराछोरीबाट गरिएको
अपेक्षा देख्न नपाउनु । अझ छोराबाट आसभरोसा गर्ने बाबुआमा धेरै हुन्छन् ।छोरालाई
हुकाईबढाई र लेखपढ गराइसकेपछि उसले बुढेसकालमा आफूलाई केही गर्छ भन्ने
आशाको त्यान्द्रोले बाआमा बाँच्ने भएकाले उनीहरुको यो आशा कहिल्यै निराशामा
नबदलियोस् भन्ने कुरामा निकै ध्यान दिनुपर्छ ।छोरोलाई
पढ्न पठाएको छ, उसले कमाउँछ र मलाई केही गर्छ भन्ने आश हुन्छ उनीहरुमा ।
त्यही भोलिको सुनौलो दिन सम्झेर बुढाबुढीले घामपानी केही नभनी सकीनसकी काम
गरिरहेकै हुन्छन् । उनीहरुको दुःखकष्ट छोराबुहारी दुबैले बुझ्नु जरुरी छ ।
जान्यो भने बुढाबुढीलाई खुशी पार्न निकै सजिलो छ । बा–आमा र श्रीमतीलाई
सधैं ‘ब्यालेन्स’मा राख्नुपर्छ । त्यसो भएमा घर राम्रोसँग चल्छ, होइन भने
भत्किन्छ ।
घरमा
बुहारी भित्रिएपछि सबैका बाआमालाई खुशीसँगै डर पनि पैदा हुन्छ । अझ राखनधरन
र ऐंचोपैंचो सम्हालेर बस्ने आमालाई त बुहारीको खटनमा बस्नुपर्ने हो कि
भन्ने पीर पर्छ । साँच्चै बुहारीको ‘अन्डरमा’ बस्दैछु भन्ने लाग्यो भने
बुढाबुढीलाई सबैभन्दा बढी नमजा हुन्छ । बिहे गरेपछि बाआमा भन्दा श्रीमती
नजिक हुनु स्वभाविक हो । तर बाआमाबाट पनि धेरै टाढा कहिल्यै हुनु हुँदैन,
दुवैलाई ब्यालेन्समा राख्न जान्नुपर्छ ।बुढा
भैसकेका बाआमाको मनमा आशंका हुने काम नगर्ने हो भने उनीहरुले कहिल्यै
अपहेलित भएको महसुस गर्दैनन् । खान दिएर मात्रै हुँदैन, सम्मान गर्न
जान्नुपर्छ । बुढा बाआमालाई सबैभन्दा बढी मान चाहिने भएकाले छोराबुहारीले
त्यसै अनुसार ख्याल गर्नुपर्छ ।
बुढाबुढीले
झर्कोफर्को गरे भन्ने धेरै छोराबुहारीको गुनासो हुन्छ । झर्कोफर्को गर्नु
त बुढेसकालको लक्षण हो, स्वभाविक रुपमा लिनुपर्छ । शरीर कुप्रनु,
दाह्रीकपाल फुल्नु, गाला चाउरी पर्नु जस्तै उमेर ढल्केपछि दिमाग पनि बुढो
हुने भएकाले यस्ता लक्षण देखिन्छ ।बुढो
भएपछि निउँ खोज्छ भन्ने चलन छ । निउँ खोजेको होइन । बुढो भएपछि सबैलाई लोभ
लाग्छ । झर्कोफर्को र करकर गर्न मन लाग्छ । यस्तोबेला छोराबुहारी रिसाउन
हुँदैन ।बाआमा बुढो भएछन् भनेर
स्वभाविक रुपमा लिन सक्नुपर्छ । उनीहरुको कुरा सुनिदिनुपर्छ । उनीहरुको
मनोभावना बुझेर त्यसै अनुसार काम गर्न जान्नुपर्छ ।
0 comments:
Post a Comment